Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Pyuthan

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Pyuthan

Saturday, Jestha 30, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

नागरिकता 2079-10-16

नागरिकता भनेको के हो?

राज्यसँग नागरिकको कानूनी सम्बन्ध स्थापीत गरी अधिकारको रक्षा गर्ने दस्तावेज नागरिकता हो। यो राज्य र नागरिकबिचको सम्बन्ध सेतुको रुपमा रहेको हुन्छ। नागरिकता राजनीतिक समुदायको सदस्यता हो। नागरिक वैयक्तिक पहिचान हो भने नागरिकता राज्य र व्यक्तिको सम्बन्ध सूचकको अवस्था हो।

नेपालमा हाल कुन कुन प्रकारको नागरिकता वितरण गरिन्छ ?

नेपालको संविधान र नेपाल नागरिकता ऐन, २०६३ बमोजिम नेपालमा हाल देहाय बमोजिमका नेपाली नागरिकताको प्रमाणपत्रहरू वितरण गर्ने व्यवस्था रहेको छः

  • वंशजको आधारमा नेपाली नागरिकता
  • अंगीकृत नेपाली नागरिकता (वैवाहिक अंगीकृत नेपाली नागरिकता सहित)
  • गैर आवासीय नेपाली नागरिकता
  • सम्मानार्थ नेपाली नागरिकता

नागरिकता सम्बन्धी मौजुदा कानूनहरू के के छन् ?

नागरिकता सम्बन्धी मौजुदा कानूनहरू देहाय बमोजिम रहेका छन्ः

  • नेपालको संविधान
  • नेपाल नागरिकता ऐन, २०६३
  • नेपाल नागरिकता नियमावली, २०६३
  • नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३
  • यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई लिङ्गको महलमा “अन्य” जनाई नागरिकता जारी गर्ने सम्बन्धी निर्देशिका, २०६९
  • नागरिकता प्रमाणपत्र वितरण टोलीको कार्यसञ्चालन निर्देशिका, २०७०
  • नागरिकता प्रमाणपत्रको डाटा हेर्ने मात्र पहुँच दिने सम्बन्धी कार्यविधि, २०७५

कस्तो व्यक्तिले नेपाली नागरिकता पाउँछन् ?

नेपालको संविधानको भाग २ (धारा १० - धारा १५) मा नागरिकता सम्बन्धी देहाय बमोजिमको व्यवस्था रहेको छः

१०. नागरिकताबाट वञ्चित नगरिनेः (१) कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन।
      (२) नेपालमा प्रादेशिक पहिचान सहिको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ।

११. नेपालको नागरिक ठहर्नेः (१) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन्।
     (२) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोवास भएको देहायको व्यक्ति वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछः
          (क) यो संविधान प्रारम्भ हुनु भन्दा अघि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति,
          (ख) कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति।
     (३) यो संविधान प्रारम्भ हुनु भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भए पछि वंशजको आधारमा नेपालको    

          नागरिकता प्राप्त गर्नेछ।
     (४) नेपाल भित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालकनिजको बाबु वाआमा फेला नपरे सम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ।
     (५) नेपालको नागरिक आमाबाट नेपालमा जन्मभई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ।
          तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून बमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ।
    (६) नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशि महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ।
    (७) यस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको 

          नागरिकता प्राप्त गरेको रहेनछ भने निजले संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने छ।


          तर नागरिकता प्राप्त गर्दाका बखत निजका आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मेको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ।
    (८) यस धारामा लेखिए देखि बाहेक नेपाल सरकारले संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्रदान गर्न सक्नेछ।
    (९) नेपाल सरकारले संघीय कानून बमोजिम नेपालको सम्मानार्थ नागरिकता प्रदान गर्न सक्नेछ।
    (१०) नेपाल भित्र गाभिने गरी कुनै क्षेत्र प्राप्त भएमा त्यस्तो क्षेत्र भित्र बसोबास भएको व्यक्ति संघीय कानूनको अधिनमा रही नेपालको नागरिक हुनेछ।

१२. वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकताः यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको 

      नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ।

१३. नागरिकताको प्राप्ति, पुनः प्राप्ति र समाप्तिः नागरिकताको प्राप्ति, पुनः प्राप्ति र समाप्ति सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ।

१४. गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिनेः विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको

      आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न

       पाउने गरी नेपालको गैर आवासीय नागरिकता प्रदान गर्न सकिने छ।

१५. नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्थाः नेपालको प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने तथा नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ।

कस्तो व्यक्तिले वंशजको नाताले नेपालको नागरिकता प्राप्त गर्न सक्छन् ?

नेपाल नागरिकता ऐन, २०६३ को दफा ३ बमोजिम देहायका व्यक्तिले वंशजको नाताले नेपालको नागरिकता प्राप्त गर्न सक्छन्ः

(१) कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गर्ने नेपाली नागरिक महिलाबाट जन्मिएका सन्तानको हकमा दफा (५) को उपदफा (२) बमोजिम हुनेछ ।

(३) नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिनेछ ।

अंगीकृत नेपाली नागरिकता कस्तो व्यक्तिले प्राप्त गर्न सक्दछन् ?

नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ मा व्यवस्था भएबमोजिम देहायबमोजिमका व्यक्तिहरूले अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्दछन्ः

  • नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिला
  • विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोराछोरी (निजको नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास  गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने)
  • विज्ञान, दर्शनशास्त्र, कला, साहित्य, विश्वशान्ति, मानव कल्याण वा नेपालको औद्योगिक, आर्थिक वा सामाजिक उन्नतिमा विशेष योगदान पुर्‍याएको वा पुर्‍याउन सक्ने भनी मनासिब आधारमा नेपाल सरकारले उचित ठहर्‍याएको व्यक्ति
  • अंगीकृत नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको सन्तानमध्ये निजले सो नागरिकता प्राप्त गर्नुभन्दा पहिले जन्मेका सन्तान

के मैले जन्मको आधारमा नागरिकता पाउन सक्छु ?

नेपालको संविधान जारी हुनुपूर्व जन्मको आधारमा नेपाली नागरिकता वितरण हुन्थ्यो । वर्तमान संविधानमा जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गर्नेसम्बन्धी व्यवस्था छैन ।

वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न के कस्तो कार्यविधि पुरा गर्नुपर्दछ ?

नेपाल नागरिकता नियमावली, २०६३ को नियम ३ मा वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न देहायबमजिमको व्यवस्था गरिएको छः

(१) वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह्र बर्ष उमेर पूरा भएको नेपाली नागरिकले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष देहायका कागजात संलग्न राखी अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ ।

(क) बाबु वा आमा वा आफ्ना वंशतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र,

(ख) जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय निकायले गरिदिएको सिफारिस वा जन्मदर्ता प्रमाणपत्र,

(ग) खण्ड (क) बमोजिम तीन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित पत्र

(२) उपनियम (१) बमोजिमका प्रमाण निवेदनसाथ पेश गर्न नसक्ने नेपाली नागरिकलाई देहायका कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिन सकिनेछः

(क) निवेदकका बाबु वा आमा नेपाली नागरिक भएकोले निज वंशजको नाताले नेपालको नागरिक भएको र नेपालमा जन्म भई निरन्तर रूपमा नेपाल सरहदभित्र स्थायी रुपमा बसोबास गरी आएको व्यहोरा खुल्ने गरी स्थानीय निकायका प्रतिनिधिको रोहबरमा अनुसूची-३ बमोजिमको ढाँचामा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त स्थानीय बासिन्दाहरूले गरिदिएको स्थलगत सर्जमिन,

(ख) सम्बन्धित वडामा बसोबास गर्ने तीन जना नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिकले अनुसूची-४ बमोजिमको ढाँचामा सर्जमिनस्थल मैँ गरिदिएको सनाखत ।

    तर, नागरिकताको सिफारिस गर्ने वा नागरिकता प्रदान गर्ने अधिकारीलाई सनाखत गर्ने व्यक्तिले शंकास्पद रूपमा सनाखत गरेको लागेमा त्यस्तो अधिकारीले त्यस उपर थप छानवीन गर्न सक्नेछ ।

(३) नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगान नभएको नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह्र बर्ष उमेर पूरा भएको व्यक्तिले देहायका कागजात संलग्न राखी अनुसूची-१ बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछः

(क) नेपाल सरकारबाट स्वीकृति प्राप्त बालमन्दिर वा अनाथ बालबालिका संरक्षण गर्ने संघसंस्था वा अनाथालयको संरक्षणमा हुर्ने बढेको भए त्यस्तो संस्थाको सिफारिस,

(ख) कुनै व्यक्ति विशेषले प्रचलित कानूनबमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए पालनपोषण गर्ने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी,

(ग) खण्ड (क) बमोजिमको संस्थामा पालनपोषण गर्ने संस्थाका प्रमुखबाट गरिदिएको सनाखत वा खण्ड (ख) बमोजिम पालनपोषण गर्ने व्यक्तिले गरिदिएको सनाखत,

(४) उपनियम (३) बमोजिम निवेदकको पितृत्व वा मातृत्वको सम्बन्धमा थप कुरा बुझ्नुपर्ने भएमा आवश्यकताअनुसार स्थानीय तहको सिफारिस वा प्रहरी प्रतिवेदन माग गर्न सकिनेछ ।

(५) उपनियम (१) र (३) बमोजिम प्राप्त निवेदनउपर छानवीन गर्दा निवेदक वंशजको नाताले नागरिकताको प्रमाणपत्र पाउन योग्य देखिएमा निजलाई वंशजको नाताले नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ ।

(६) पितृत्व मातृत्वको ठेगान नभएको व्यक्तिको नागरिकताको प्रमाणपत्रको बाबुवा वा आमाको नाम उल्लेख हुनुपर्ने स्थानमा पितृत्व मातृत्वको ठेगान नभएको व्यहोरा जनाई संरक्षकको नाम, थर र ठेगाना उल्लेख गर्नुपर्नेछ ।

(७) यो नियम प्रारम्भ हुनुभन्दा अघि समयसमयमा खटिएका नागरिकता टोलीले तयार गरेको दर्ता अभिलेख र वितरण गरेको अस्थायी निस्सालाई समेत आधार लिई नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ ।

(८) उपनियम (२) बमजिम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न निवेदन दिने व्यक्तिहरूको सूची सोही दिन सार्वजनिक गर्नुपर्नेछ ।

अंगीकृत नागरिकता प्राप्त गर्न कस्तो रीत पुर्याउनुपर्छ ?

नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ मा अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न देहायबमजिमको व्यवस्था गरिएको छः

(१) नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ । त्यसरी निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पनि साथै पेश गर्नु पर्नेछ ।

(२) विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोराछोरीको हकमा निजको नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने निजलाई तोकिएबमोजिम अङ्गीकृत नागरिकता प्रदान गर्न सकिनेछ ।

(३) उपदफा (२) बमोजिम अङ्गीकृत नागरिकता प्राप्त गर्न चाहने व्यक्तिले देहायका कागजात संलग्न गरी तोकिएको अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ :

(क) आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

(ख) नेपालमा जन्म भई स्थायी बसोबास गरेको व्यहोरा खुल्ने सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सिफारिस,

(ग) बाबुको नागरिकताको आधारमा कुनै विदेशी मुलुकको नागरिकता नलिएको निस्सा ।

(४) देहायका शर्त र अवस्था पूरा गरिसकेका विदेशी नागरिकमध्ये विज्ञान, दर्शनशास्त्र, कला, साहित्य, विश्वशान्ति, मानव कल्याण वा नेपालको औद्योगिक, आर्थिक वा सामाजिक उन्नतिमा विशेष योगदान पु-याएको वा पुर्‍याउन सक्ने भनी मनासिब आधारमा नेपाल सरकारले ठहर्‍याएको व्यक्तिलाई तोकिएबमोजिम अङ्गीकृत नेपाली नागरिकता प्रदान गर्न सकिनेछ :

(क) नेपाली वा नेपालमा प्रचलित अन्य कुनै भाषा बोल्न र लेख्न जानेको,

(ख) नेपालमा कुनै व्यवसाय गरी बसेको,

(ग) अन्य मुलुकको नागरिकता त्यागेको वा त्याग्ने घोषणा गरेको,

(घ) कम्तीमा पन्ध्र वर्षसम्म नेपालमा बसोबास गरेको,

(ङ) नेपाली नागरिकलाई अङ्गीकृत नागरिकता दिने कानूनी व्यवस्था वा प्रचलन भएको मुलुकको नागरिक भएको,

(च) असल चालचलन भएको,

(छ) मानसिक रुपले स्वस्थ भएको ।

(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि भङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको सन्तानमध्ये निजले सो नागरिकता प्राप्त गर्नुभन्दा पहिले जन्मेको सन्तानले तोकिए बमोजिम अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ ।

(६) यस दफा बमोजिम अङ्गीकृत नेपाली नागरिकता पाउने व्यक्तिलाई अनुसूची बमोजिमको शपथग्रहण गराई तोकिएको ढाँचामा नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिनेछ र त्यस्तो प्रमाणपत्र पाएको मितिदेखि त्यस्तो व्यक्ति नेपालको अङ्गीकृत नागरिक हुनेछ ।

अंगीकृत नेपाली नागरिकता र वैवाहिक अंगीकृत नेपाली नागरिकतामा के फरक छ ?

वैवाहिक अंगीकृत नागरिकता छुट्टै प्रकारको नागरिकता नभई अंगीकृत नेपाली नागरिकताको स्वरुप हो । सामान्यतया आफ्नो देशको कानूनको पालना र समर्थन गर्ने वाचा गरी वफादारीको शपथ लिने गैर नागरिकलाई अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिन्छ । मुलुकअनुसार गैर नागरिकलाई अंगीकरण गर्ने कानूनहरू फरक फरक हुन्छन् । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलालाई संघीय कानूनबमोजिम वैवाहिक अंगीकृत नेपाली नागरिकता प्रदान गरिन्छ ।

सम्मानार्थ नेपाली नागरिकता कस्तो व्यक्तिलाई प्रदान गरिन्छ ?

नेपाल नागरिकता ऐन, २०६३ को दफा ६ मा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई नेपालको सम्मानार्थ नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ ।

कस्तो अवस्थामा नेपाली नागरिकता कायम रहँदैन ?

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० मा देहायको अवस्थामा नेपाली नागरिकता कायम नरहने व्यवस्था गरिएको छः

(१) नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन ।

(२) नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिए बमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ र त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहने छैन ।

(३) दफा १४ बमोजिम कुनै व्यक्तिलाई नेपाली नागरिकताबाट हटाइएकोमा त्यसरी हटाइएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता कायम रहने छैन ।

(४) कुनै व्यक्तिलाई एकैसाथ नेपालको र विदेशी मुलुकको नागरिकता प्राप्त हुने भवस्था भएमा त्यस्तो व्यक्तिले सोह्र वर्ष उमेर पुगेको दुई वर्षभित्र कुनै एक मुलुकको नागरिकता रोज्नु पर्नेछ । त्यसरी नागरिकता नरोजेको अवस्थामा सो म्याद नाघेपछि निजको नेपाली नागरिकता कायम रहने छैन ।

नाबालक परिचयपत्र भनेको के हो ? यसको अवधि कति हुन्छ ?

नेपाल नागरिकता ऐन, २०६३ मा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न १६ बर्ष उमेर पुग्नुपर्ने प्रावधान छ । १६ बर्ष उमेर पुरा नभएको व्यक्तिलाई आवश्यक परेको खण्डमा नेपाली नागरिकता सरहको प्रमाणपत्रको रुपमा नाबालक परिचयपत्र जारी गरिन्छ । स्थानीय प्रशासन ऐन, २०२८ ले नाबालक परिचयपत्र प्रदान गर्ने साधिकार प्रमुख जिल्ला अधिकारीमा रहने व्यवस्था गरेको छ ।

नाबालक परिचयपत्र प्राप्त गरेको व्यक्ति १६ बर्ष पुगेपश्चात् यो परिचयपत्र स्वतः निष्क्रिय हुन्छ ।

नेपाली नागरिकता परित्याग गर्ने प्रक्रिया कस्तो छ ?

नेपाल नागरिकता नियमावली, २०६३ को नियम ९ मा नेपाली नागरिकता परित्याग गर्ने कार्यविधिसम्बन्धी देहायबमोजिम व्यवस्था गरिएको छः

(१) कुनै नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न चाहेमा निज नेपालभित्र बसेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष र विदेशमा बसेको भए सम्बन्धित नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतसमक्ष आफूले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति संलग्न गरी अनुसूची-९ बमोजिमको ढाँचामा सूचना दिनुपर्नेछ ।

(२) उपनियम (१) बमोजिम विदेशमा सूचना दिएको भए सात दिनभित्र पूरा विवरण खोली नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतले परराष्ट्र मन्त्रालयमार्फत मन्त्रालयमा लेखी पठाउनुपर्नेछ।

(३) उपनियम (२) बमोजिम प्राप्त भएको सूचना मन्त्रालयले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष पठाउनुपर्नेछ।

(४) उपनियम (१) बमोजिम सूचना प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले त्यस्तो सूचना अनुसूची-१० बमोजिमको ढाँचाको दर्ता किताबमा दर्ता गर्नुपर्नेछ र त्यसरी दर्ता भएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता समाप्त हुनेछ।

नेपाली नागरिकता परित्याग गरेपछि फेरी नेपाली नागरिकता लिन पाईन्छ, पाईँदैन ?

नेपाल नागरिकता ऐन, २०६३ को दफा ११ मा कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको  विदेशि मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ  भन्ने व्यवस्था छ ।

नेपाली नागरिकता समाप्त भएपश्चात् के मेरो अधिकार र कर्तव्य पनि अन्त्य हुन्छ ?

नेपाल नागरिकता ऐन, २०६३ को दफा १६ मा कुनै कारणबाट कसैको नेपाली नागरिकता समाप्त भएमा नेपालको नागरिक रहेका बखत निजले गरेको कुनै कार्यको सम्बन्धमा निजको अधिकारकर्तव्य  दायित्व त्यसरी नागरिकता समाप्त भएको कारणले मात्र लोप भएको मानिने छैन  भन्ने व्यवस्था रहेको हुँदा कुनै व्यक्तिको नेपाली नागरिकता समाप्त भएपश्चात् निजको अधिकार, कर्तव्य र दायित्व समाप्त हुँदैन ।

नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण फरक परेमा सच्याउने सम्बन्धमा के कस्तो व्यवस्था छ ?

नेपाल नागरिकता ऐन, २०६३ को दफा १७ मा नेपाली नागरिकताको प्रमाणपत्रमा संशोधन गर्नेसम्बन्धी निम्नानुसारको व्यवस्था गरेको छः

(१) कनै व्यक्तिले आफ्नो नेपाली नागरिकताको प्रमाणपामा उल्लिखित थर वा उमेर शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक पर्न गई वा नागरिकताको प्रमाणपत्रामा सानातिना त्रुटी भई सो विवरण सच्याउन चाहेमा आवश्यक प्रमाणसहित तोकिएको अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।

स्पष्टीकरण : यस उपदफाको प्रयोजनको लागि “सानातिना त्रुटी” भन्नाले नागरिकताको प्रमाणपत्रमा उल्लिखित विवरणमा तात्विक अन्तर नपर्ने जस्तैः “कुमारी”, “देवी”, “बहादुर', “प्रसाद" जस्ता शब्द बढी राखिएको वा छुटेको वा आकार, इकारमा फरक परेको वा यस्तै अन्य सानातिना त्रुटीलाई जनाउनेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन परेपछि सम्बन्धित अधिकारीले निजसँग भएको सबुत प्रमाण र आवश्यकताअनुसार साक्षी सरजमिन समेत बुझी त्यस्तो विवरण सच्याई पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची अर्को नागरिकताको प्रमाणपत्र दिन सक्नेछ ।

(३) विवाह वा सम्बन्ध विच्छेद भएकी महिलाले थर, वतन वा अन्य विवरण संशोधन गर्न निवेदन दिएमा तोकिएको अधिकारीले आवश्यक कुरा बुझी पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची थर, वतन वा विवरण संशोधन गरी अर्को नागरिकताको प्रमाणपत्र दिन सक्नेछ ।

दलित जातिका नागरिकहरूको थर संशोधन गर्न के गर्नुपर्दछ ?

समाजमा अझै विद्यमान रहेको जातिगत संकिर्णताले गर्दा जातीय आधारमा आफूलाई हिनताबोध हुने एवं संकिर्णता जनाउने थर भएका व्यक्तिले बाबुको भन्दा फरक थर राखी नागरिकता प्रमाणपत्र माग गरेमा छानवीन गरी व्यहोरा मनासिब देखिएमा नागरिकताको प्रमाणपत्रमा नयाँ थर राखी वा थर सच्याई नागरिकताको प्रमाणपत्र दिने व्यवस्था छ । जसको लागि थर संशोधन गर्ने व्यक्तिले स्थानीय तहको सिफारिस साथै राखी नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्ने साधिकार निकायमा संशोधन सहितको प्रतिलिपी नागरिकताको लागि निवेदन दिनुपर्दछ ।

झुठ्ठा विवरण पेश गरी नागरिकता लिएमा वा दोहोरो वा तेहोरो नागरिकता लिएमा के हुन्छ ?

नेपाल नागरिकता ऐन, २०६३ को दफा १२ मा कुनै नेपाली नागरिकले झुठ्ठो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाणपत्र रद्द गर्नेछ  भन्ने व्यवस्था छ भने ऐ.को दफा १३ मा कसैले पनि एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन हुँदैन  भन्ने व्यवस्था छ । त्यस्तै ऐ. को दफा १४ मा कुनै विदेशी व्यक्तिले झुठ्ठो विवरण वा बयान दिई नेपाली नागरिक हो भनी झुक्याई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा प्रमाणित हुन आएमा नेपाल सरकारले निजको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने आदेश दिनेछ  भन्ने व्यवस्था छ ।

ऐ. ऐनको दफा २१ मा झुठ्ठा विवरण पेश गरी नेपाली नेपाली नागरिकताको प्रमाणपत्र लिएमा वा दोहोरो वा तेहोरो नागरिकता लिएमा देहायबमोजिम सजायको व्यवस्था गरिएको छः

(१) कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्ष देखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । झुठो विवरण दिई नागरिकता प्राप्त गरेबापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ ।

(२) कनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा पच्चीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

(३) कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

(४) कसैले सक्कल नागरिकताको प्रमाणपत्रमा भएको विवरणमा आफूखुशी थपघट गरेमा वा सच्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

(५) दफा १२ बमोजिम झुठो विवरण दिई नागरिकताको प्रमाणपत्र प्राप्त गरेमा वा दफा १७ बमोजिम सच्याइएको विवरण झुठो प्रमाणित भएमा त्यस्तो झुठो विवरण दिने व्यक्तिलाई वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप अन्य कुनै कसूर गर्ने गराउने व्यक्तिलाई पन्ध्र हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

(६) नेपाली नागरिकताको प्रमाणपत्र दिने अधिकारीले जानी-जानी वा बदनीयत राखी यस ऐन वा यस ऐन अन्तर्गत बनेका नियम विपरीत हुने गरी नागरिकताको प्रमाणपत्र दिएमा वा नागरिकताको प्रमाणपत्रको विवरण सच्याएमा त्यस्तो पदाधिकारी वा कर्मचारी उपर प्रचलित कानुन बमोजिम विभागीय कारवाही हुनेछ ।

(७) उपदफा (१), (२) र (३) अन्तर्गत सजाय हुने कसूर गर्न उद्योग गर्ने वा मद्दत गर्ने व्यक्तिलाई सोही उपदफामा तोकिएको सजायको आधा सजाय हुनेछ ।

के नागरिकताको प्रमाणपत्र प्राप्त गर्न दस्तुर तिर्नुपर्दछ ?

नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न कुनै पनि दस्तुर तिर्नुपर्दैन ।

नागरिकता प्राप्त गर्ने व्यक्तिले पालना गर्नुपर्ने शर्तहरू के के हुन् ?

नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ को दफा ६२ बमोजिम नागरिकता प्राप्त गर्ने व्यक्तिले पालना गर्नुपर्ने शर्तहरू देहायबमोजिम छन्ः

१. तोकिएको ढाँचामा पूरा विवरण भरी निवेदन दिनुपर्नेछ ।

२. निवेदनसाथ तोकिएबमोजिमका प्रमाणहरू पेश गर्नुपर्नेछ ।

३. निवेदन नेपाली नागरिकले मात्र दिन सक्नेछन् ।

४. निवेदकको नाम, थर, जात, बाबुको नाम, ठेगाना, राष्ट्रियताको विवरण गलत दिनुहुँदैन । ठीक साँचो हुनुपर्नेछ ।

के आमा बाबुको ठेगान नभएका व्यक्तिले नेपाली नागरिकता प्राप्त गर्न सक्छन् ?

नेपालको संविधानको धारा ११(४) मा नेपालभित्र फेला परेको पितृत्व  मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ  भन्ने व्यवस्था रहेको छ भने ऐ.को धारा ११(५) मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको  बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ  तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानूनबमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ  भन्ने व्यवस्था छ ।

के आमाको नामबाट नेपाली नागरिकता प्राप्त गर्न सम्भव छ ?

नेपालको संविधानको धारा १२ मा यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ । भन्ने व्यवस्था रहेको हुँदा आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सम्भव छ ।

 



Last Updated : 2083-02-20 15:19:24

© All Rights Reserved to District Administration Office, Pyuthan .