Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय प्यूठान

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय प्यूठान

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्लाकाे परिचय 2075-06-25

जिल्लाको पृष्ठभूमि

१. पृष्ठभूमि

१.१ ऐतिहासिक पृष्ठभूमि:

     प्यूठान शब्दको उत्पत्ति कसरी भयो भन्ने सम्बन्धमा विभिन्न धारणाहरु पाईन्छन् । कर्कपेट्रीकले प्रार्थना (पुरथाना) बाट अपभ्रंश हुँदै प्यूठान भएको, ह्यामिल्टनले पुजुठानाबाट प्यूठान, ओल्डफिल्डले प्राथनाबाट प्यूठान नाम रहन गएको र योगी नरहरिनाथले प्लुथानबाट प्यूठान रहन गएको उल्लेख गरेका छन् । पृथ्वीनारायण शाहले समय-समयमा लेखेको पत्रहरुमा, पिउठानी, पिउठाना भनी उल्लेख गरेको पाइन्छ । सुरक्षा सम्बन्धी शब्द- पिउठ बस्ने ठाना भएकोले पिउठानाबाट अपभ्रंश भई पिउठान् नाम रहन गएको थियो भने तर्क आम रुपमा बलियो रहेको छ ।

      प्यूठान राज्यको स्थापना यति नै समयमा भएको हो भन्ने निश्चित रुपमा थाहा पाउने साधन र स्रोतको अभाव छ । वि.सं. १५१५-१५६० तिर चन्दवंशी राजाहरुले स्वतन्त्र राज्य स्थापना गरेको भन्ने भनाई भएतापनि किटानी गर्न सकिने अवस्था छैन । प्यूठान राज्य राजधानी भित्रीकोटमा रहेको र मोदनीबर्मनले वि.सं. १५१५ मा आफ्ना कान्छा छोरा ज्वाई चन्दवंशका लटराज चन्दलाई राजा बनाएका प्रमाण भेट्न सकिन्छ । प्यूठान जिल्लाभित्र थुप्रै रजौटाहरु रहेको कुरा पृथ्वीनारायण शाहले काजी कालु पाण्डेलाई लेखेका पत्रमा “प्यूठाना पर्वतभित्र कति राजा छन्.......” भनिनुले पनि अनुमान गर्न सकिन्छ । रोल्पाका ध्वज बहादुर चन्दसँग रहेको वंशावली अनुसार प्यूठानका राजाहरुको नामावली निम्नानुसार रहेको पाईन्छ:-

१. लटराज                    २. भुवनराज                       ३. नरहरिराज                  ४. नरिन्द्रराज                 ५. गजिन्द्रराज       ६. सुर्तानराज

७. दलपतिराज              ८. शंसाहीराज                    ९. पृथ्वीपतीराज               १०. उदतराज                 ११. मोती चन्दराज   १२. मानिक चन्दराज

१३. दिप प्रताप चन्दराज   १४. रुद्र प्रताप चन्दराज

      ईतिहासकारहरुको मान्यताको आधारमा एउटा राजाले औषतमा २५ वर्षसम्म शासन गरेको पाईएकोले यी चन्द राजाहरुले ३५० वर्ष जति राज्य गरेको पाईन्छ । वि.सं. १८४३ मा श्रीनाथ सबुज बरख, श्री जङ रण भिम नयागोरख, श्री मेहर भवानी बक्स, दुर्गा बक्स, रामदलपति कम्पनी र नेपालबाट पर्वत हान्न गएका काजी दामोदर पाण्डे, काजी जगजित पाण्डे, सुवेदार बदलसिंह थापा नयाँ श्रीनाथ समेत धुर्कोट बाटो गरी प्यूठान हान्न आउँदा विना लडाई जित पश्चात नेपाल राज्यभित्र एकिकरण भएको पाईन्छ ।

      प्यूठान जिल्लाको नामाकरण सर्वप्रथम मगर जातीबाट गरिएको कुरा यहाँका स्थानहरुको नामाकरणबाट अनुमान लगाउन सकिन्छ । भिंग्री, सारी, कोचिवाङ, मर्कावाङ, तोरवाङ, खवाङ, स्यालिवाङ आदि प्राचिनकालमा लिच्छवीकालहरुको अधिनमा रहेको यो जिल्ला पछि खसिया मल्लहरुको अधिनमा १४ औँ शताब्दीसम्म रह्यो । पाल्पाली राजा मुकुन्द सेनका समकालिन प्यूठानी राजा रुद्रसिंह पछि मोतिचन्द (प्रथम) यहाँका राजा भए । यशोदाको विवाह मुकुन्द सेन (प्रथम) का नाती कर्ण सेनसँग भएको बताइन्छ । मोतिचन्द पश्चात रुद्र चन्द, गजकेशरी चन्द भएको बुझिन्छ । वि.सं. १७६० तिर पृथ्वीपती शाह राजा भएको कुरा उनको ताम्रपत्रमा उल्लेखित छ भने १८३२ मा राजा माणिक चन्दको ताम्रपत्र देखा पर्दछ । वि.सं. १८३५ मा मोतिचन्द (द्वितिय) प्यूठानका राजा थिए । खुंग्री, भिंग्री, इश्मा र मुसिकोट प्यूठानका अनुयायी भएको कुरा ह्यामिल्टनले उल्लेख गरेको पाइन्छ । मोतिचन्द प्यूठानका अन्तिम भुरे राजा भएको कुरा १८४३ तिर नेपालको एकिकरण अभियानमा यहाँका राजा भागेबाट स्पष्ट हुन्छ । प्यूठानको एकीकरण गरीसकेपछि खुंग्री र उदयपुरका शासकहरु नेपाल नरेशको छत्र छाँयामा रजौटाको रुपमा रहे । खुंग्री र उदयपुरका राजालाई राज्य पनि २०१७ ले आजीवन राजाको प्रदान गरेकोमा हाल उक्त ऐन खारेज गरेपछि रजौटाको अस्तित्व कानुनी रुपमा समाप्त भएको छ ।

      वि.सं. २०१९ साल पूर्व प्यूठान भित्रीकोट, नारीकोट, उदयपुरकोट, माडीखोला, कालाशेष र वाइसखुवा गरी ६ थुममा विभाजित भएकोमा २०१९ मा कालाशेष र वाइसखुवा रोल्पामा गाभिए । २०१५ सालमा महानिर्वाचन हुँदा प्यूठानमा निर्वाचन क्षेत्र नं. 83, 84 र 85 पर्दथ्यो । २०२७ साल पौष २२ मा पंचायती व्यवस्थाको सुत्रपातपछि २०१९ सालमा प्यूठान एक निर्वाचित क्षेत्र ९ ईलाका, गा.प. 49 केन्द्र रहेको थियो । जनआन्दोलन पश्चात २०४८ सालमा प्रशासनिक रुपमा यस जिल्लालाई २ संसदीय निर्वाचन क्षेत्र, ११ ईलाका, 49 गा.वि.स.मा विभाजन गरिएको थियो । संघियताको कार्यान्वयनसँग-सँगै हाल १ वटा निर्वाचन क्षेत्र, ७ वटा गाउँपालिका र २ नगरपालिका (अनुसुचि १) मा विभाजन गरिएको छ भने प्रशासनिक केन्द्र खलंगा प्यूठानमा रहेको छ ।

१.२ भौगोलिक अवस्था:-

प्यूठान जिल्ला पहाडी क्षेत्रमा अवस्थित जिल्ला हो, जुन काठमाण्डौँबाट पश्चिम दिशातर्फ करिब २५० किलोमिटरको दुरीमा रहेको छ । यसले करिब १३०९ वर्गकिलोमिटर क्षेत्र ओगटेर रहेको छ । यसको अवस्थिती हेर्दा २७५२’ उत्तरदेखि २८२२’ उत्तरी अक्षांशसम्म र ८२३६’ पूर्वदेखि ८२६’ पूर्वीदेशान्तरसम्म फैलिएको छ । यो जिल्ला ५ वटा जिल्लासँग जोडिएर रहेको छ । यसको पूर्वी दिशामा गुल्मी र अर्घाखाँची, पश्चिममा रोल्पा र दाङ, उत्तरमा रोल्पा र बाग्लुङ्ग, दक्षिणमा दाङ र अर्घाखाँची जिल्लाहरु रहेका छन् ।

१.२.१ क्षेत्रफल र उचाई:-

क्षेत्रफल:

      यो जिल्लाको कुल क्षेत्रफल १,३२,८९० हेक्टर रहेको छ जसमध्ये ७२६९४ (५४.७%) हेक्टर भू-भाग वनले ढाकेको छ । वुट्यान तथा चरन क्षेत्रले १२८९९ (९.७१%) हेक्टर भू-भाग ढाकेको छ भने बाँकी भू-भाग कृषि भू-भाग तथा खोलानालाले ढाकेको छ ।

उचाई:

      यो जिल्लाको तल्लो भाग वांगेशाल क्षेत्र समुद्र सतहबाट ३०५ मिटर र माथिल्लो भाग स्याउलिवाङ स्थित कोठीभिर ३६५९ मिटरमा अवस्थित छ ।

१.२.२ जियोलोजी (Geology):-

      यसको दक्षिण भागमा चुरे क्षेत्र, पश्चिममा महाभारत पहाड पर्दछ भने उत्तरी भू-भागमा तल्लो हिमाली क्षेत्र पर्दछ तसर्थ चुरे क्षेत्रमा पाइने कमजोर चट्टानदेखि महाभारत पर्वतमा पाइने कडा चट्टान र महाभारत पर्वतदेखि माथि चुनढुङ्गा मिश्रित चट्टान रहेको पाइन्छ ।

१.२.२.१ खनिज:-

      भू-गर्भ बनावट अनुसार यस जिल्लामा तामा, चुन ढुङ्गा, कोईला, सुन, मार्वल, स्लेट जस्ता खनिज पदार्थको प्रशस्त सम्भावना रहेतापनि अध्ययन अनुसन्धानको कमीले यस जिल्लामा कुन कुन खानी, कहाँ र के कति मात्रामा पाईन्छन्? त्यसको एकीन गर्न गाह्रो रहेको छ । अरङ्ग खोला तथा स्याउलिवाङ्गमा सुन खानीको खोज कार्य भएको छ । फोप्लीमा चुन ढुङ्गा खानी सञ्चालनमा आएको छ ।

१.२.२.२ चट्टान:-

      भू-गर्भ बनावट अनुसार यस जिल्लामा पाईने चट्टानहरुमा फाईनाईट, डोलोमाईट, स्टेल, लाईम स्टोन, बाबाजाईट इत्यादी पाइन्छन् ।

१.२.२.३ माटो:-

      यस जिल्लामा फ्रयान मन्टल, स्याण्डी लोमी बोल्डर, लोमी बोल्डर्स माटो पाइन्छ ।

१.२.३ भौगोलिक बनावट:-

      प्रादेशिकस विभाजन अनुसार प्यूठान जिल्ला लुम्बिनी प्रदेशमा अवस्थित रहेको छ । यो समुन्द्र सतहबाट ३०५ मिटर उचाईदेखि ३६५९ मिटरसम्मको उचाईमा फैलिएर रहेको छ । यसको दक्षिण भागमा चुरे क्षेत्र, पश्चिममा महाभारत पहाड पर्दछ भने उत्तरी भू-भाग तल्लो हिमाली क्षेत्र पर्दछ ।  

१.२.४ जलवायु:-

      भौगोलिक बनौट अनुसार यस जिल्लाको जलवायुमा विविधता रहेको पाइन्छ । यहाँ उष्ण, उपोष्ण तथा शितोष्ण किसिमको हावापानी पाइन्छ ।

१.२.४.१ वर्षा:-

      बङ्गालको खाडीबाट चल्ने मनसुनी वायुबाट यो जिल्लामा वृष्टि हुन्छ । मनसुनी वर्षा आषाढ महिनाबाट शुरु भई भाद्र महिनासम्म सक्रिय रहन्छ । हिउँद ऋतुमा पश्चिमी मनसुनी हावाबाट छिटपुट पानी पर्छ । सन् १९८१ देखि २०१० सम्मको तथ्याङ्कको आधारमा यस जिल्लामा वार्षिक औषत सरदर १८४७ मिमि वर्षा हुने गरेको पाइन्छ ।

१.२.४.२ तापक्रम:-

      यो जिल्लाको तापक्रम अधिकतम ४० डिग्री सेल्सियस र न्यूनतम १२ डिग्री सेल्सियससम्म पुगेको पाइन्छ ।

१.२.४.३ आँधी तुफान:-

      यो जिल्लामा गृष्म ऋतुको बैशाख-जेष्ठ महिनामा पश्चिम र उत्तरी दिशाबाट आँधी-तुफान आउने गर्दछ । उत्तरी तर्फबाट आउने आँधी बेहरी भन्दा पश्चिम तर्फबाट आउने आँधी बेहरी बढी हानीकारक रहेको पाइन्छ ।

१.२.४.४ खडेरी:-

      यो जिल्ला सुख्खा एवं खडेरीबाट प्रभावित नभएतापनि विगतको तुलनामा जलवायु परिवर्तनको अनुभूति हुन थालेको छ । प्रजातिहरुको फूल फूल्ने र फल लाग्ने समयमा आएको परिवर्तन तथा मनसुन आगमनको अनिश्चितताले कृषि कार्य प्रभावित भएको छ तथापी लामो समय खडेरी परी ठूलो असर परी खडेरी प्रभावित भनि घोषणा अवस्था हालसम्म आएको पाइँदैन ।

१.२.५ नदी, खोला-नाला, ताल र सिमसार क्षेत्रहरु:-

      हिमाल, पहाड, पर्वत भू-बनावट रहेको यस जिल्लामा प्रशस्त मात्रामा नदी तथा खोला-नालाहरु रहेका छन् । यस जिल्लामा पाइने नदी, खोला-नाला, ताल र सिमसार क्षेत्रहरु निम्नानुसार छन्:-

१.२.५.१ नदी:-

      महाभारत पर्वत उद्गम बिन्दु रहेको राप्ती, झिमरुक (धर्मावति) र माडीखोला (माण्डवि) यस जिल्लाको तीन प्रमुख नदीहरु हुन्, जसमध्ये राप्ती नदी दाङ्ग जिल्लाको देउखुरी उपत्यका तथा बाँके जिल्लाको बैजापुर क्षेत्र हुँदै भारतमा पुगेर प्रसिद्ध गंगा नदीमा समाहित हुन्छ ।  

१.२.५.२ खोला-नाला:-

      यो जिल्लामा अरङ्गखोला, जुम्रिखोला, गर्तुङ्गखोला र लुङ्गखोला महाभारत पर्वत उद्गम विन्दु भएका खोला-नालाहरु हुन् । यी खोला-नालाहरु स्थायी छन्, जहाँ बाह्रै महिना पानी सुक्दैन र सिंचाईको दृष्टिले उपयुक्त छन् । यी खोलाहरु राप्ती नदीमा समाहित हुन्छन् ।

१.२.५.३ ताल:-

      यस जिल्लाको पकला गा.वि.स.को जामुने भन्ने स्थानमा जामुने दह भनेर चिनिने प्रसिद्ध दह रहेको छ । जहाँ आश्विनको पूर्णिमामा मेला समेत लाग्ने गरेको छ ।

१.३ राजनैतिक तथा सामाजिक अवस्था:-

राजनैतिक हिसाबले प्यूठान जिल्लालाई १ वटा निर्वाचन क्षेत्र, २ वटा नगरपालिका र ७ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जनसंख्यातर्फ कूल जनसंख्या २,२८,१०२ रहेको छ । जसमध्ये महिला १,२८,०४९ र पुरुष १,००,०५३, घरधुरी ४९,४७२ रहेको छ । स्थानीय निकाय अनुसारको जनसंख्या तल प्रस्तुत गरिएको छ।

ऐरावती गाउँपालिका                            २२,३९२

गौमुखी गाउँपालिका                            २५,४२१

झिमरुक गाउँपालिका                           २७,९३१

मल्लरानी गाउँपालिका                          १७,६८६

नौबहिनी गाउँपालिका                           ३०,३१०

माण्डवि गाउँपालिका                           १५,०५८

सरुमारानी गाउँपालिका                         १८,६५७

प्यूठान नगरपालिका                            ३९,४६०

स्वर्गद्वारी नगरपालिका                          ३१,१८७

Source: Central Bureau of Statistics Nepal (Web)

Explanation: The local units became operational in May 2017.

१. धार्मिक, ऐतिहासिक, पुरातात्विक क्षेत्र तथा पर्यापर्यटन:-

पर्यटकीय दृष्टिले धार्मिक, ऐतिहासिक, पुरातात्विक ठाउँहरु महत्वपुर्ण हुन्छन् । यस जिल्लामा पर्यटकीय दृष्टिले महत्वपुर्ण स्थानहरुमा स्वर्गद्वारी, ऐरावती, झाँक्रिस्थान, कालिका मन्दिर, शिवालय, गणेश मन्दिर (खलंगा), गौमुखी, मल्लरानी, कोठीभिर, भित्रीकोट आदि प्रसिद्ध रहेका छन् ।

पछिल्लो समयमा पर्यापर्यटन प्रवर्द्धनको क्रममा सरोकारवाला निकायहरुसँगको समन्वय र सहकार्य गरी विभिन्न कार्यहरु गर्दै आएको छ । भित्रीकोट दरवार संरक्षण, स्वर्गद्वारी गौमुखी पदमार्ग तथा ४० मिटर लामो लिस्नो निर्माण, शहिद स्मृति पार्क विजुवारमा पार्क निर्माण कार्य गरी साहसिक पर्यापर्यटन विकास गर्न खोजेको छ । यस वाहेक वृन्दा सामुदायिक वन भिंग्री, वडहर खोला सामुदायिक पकला, पालुकाथान सामुदिक वन चुँजा, हरियाली सामुदायिक वन वर्जिबाङ्ग क्षेत्रलाई स्थानीय पर्यापर्यटन अभिवृद्धि गर्नको लागि प्रारम्भिक आधार स्तम्भ तयार पार्ने कार्यहरु गत वर्ष भएको थियो भने यस वर्ष झुलेनी, भित्रीकोट, मरन्ठाना, जिमुरपाटा, गौमुखी, विजुवार क्षेत्रमा थप पूर्वाधार निर्माण तथा नयाँ पर्यटकीय स्थानको विकासको लागि आवश्यक पूर्वाधार निर्माण कार्य गरिएको छ ।

२.१ भू-उपयोगिता:-

      विगतमा USID को सहयोगमा गरिएको गा.वि.स. रिसोर्स ईन्भेन्ट्रीको तथ्याङ्क अनुसार कुल वन क्षेत्र ७२,६९४ हेक्टर देखिन्छ । उक्त क्षेत्रफलमा पाइने विभिन्न प्रजाती जस्तो कडा प्रजाती, मिश्रित जाती र झाडी जातीको क्षेत्र ढकाईको आधारमा कडा जातीले सबैभन्दा बढी वन क्षेत्र ढाकेको देखिन्छ । भौगोलिक वनावटका आधारमा प्यूठानलाई चुरे क्षेत्र, मध्य पहाडी क्षेत्र र उच्च पहाडी क्षेत्र गरी ३ क्षेत्रमा विभाजन गर्न सकिन्छ । जसमा सबैभन्दा बढी वन बुट्यान मध्य पहाडी भेगमा रहेको पाइन्छ ।

१. वन श्रोतको अवस्था

३.१ परिचय:-

      प्यूठान जिल्लाको वन जंगल सम्बन्धमा कुनै पनि पौराणीक कथा तथा कुनै ऐतिहासिक लिखत नपाइएतापनि बुढापाकाको भनाई अनुसार आजभन्दा ८०/९० वर्ष अगाडी यस जिल्लामा मान्छे बस्न नै डराउने घना जंगल थियो । यस जंगलमा भालु, चितुवा, कस्तुरी, रतुवा, व्वांसो लगायतका जनावर तथा डाँफे, मुनाल, मयुर, वनकुखुरा लगायतका थरीथरीका चराचुरुङ्गीहरु प्रशस्त मात्रामा पाइन्थ्यो ।

      कृषि नै मुख्य पेशा भएको यस प्यूठान जिल्लामा २००७ साल अगाडी केही मात्रामा जंगलहरु फडानी गरी आवाद गरेको पाइन्छ । तर पनि जनघनत्व कमी नै रहेकोले वन जंगल प्रशस्त नै थियो । तसर्थ पशुपालनमा कुनै खास बाधा थिएन । त्यसबेला वन सम्बन्धी खास ऐन कानुनहरु थिएनन् र वन जंगलको पूर्ण जिम्मेवारी तालुकदार, मुखिया, जिम्मुवालमा रहेको थियो । १/२ पैसा तिरेपछि आफ्ना नजिकका व्यक्ति विशेषलाई वनको जग्गा दिने प्रथा थियो । जसले गर्दा धेरै जसो जग्गा जमिन व्यक्ति विशेषको स्वामित्वमा गएको पाइन्छ ।

      जनसंख्याको द्रुततर बृद्धि हुँदै गएपछि जीविकोपार्जनको लागि साधन र श्रोतहरु सिमीत हुँदै गए । बढ्दो जनसंख्यालाई खाना पुर्याउन धौ धौ हुन थाल्यो । कृषि उत्पादन बढाउनुपर्ने बाध्यताले तिरो तिरेको नाताले वन जंगल क्षेत्रको जग्गा पनि कृषि जग्गामा परिणत हुन थाले र वन जंगलको साविक अवस्थामा ह्रास हुँदै आयो । २००७ सालपछि औलो नियन्त्रण भएपछि यस जिल्लाका प्रमुख दुई नदीहरु झिमरुक र माडी खोलाको छेउछाउको ठुलो वन जंगल कृषिको लागि मासिए । अहिले उक्त क्षेत्र कृषिको लागि उपयुक्त क्षेत्र भएको छ । सुकुम्बासीहरु बाहिरबाट नआएपनि एउटै मान्छे कोट र बेसी गर्ने चलनले गर्दा डाँडा पाखा र बेसी सबै ठाउँमा मानिसहरु बसोबास गर्ने भएकोले सबै ठाउँमा वन जंगल तिव्र रुपमा मासिदै गएको पाइन्छ।

      मुखिया, जिम्मुवालको प्रभुत्वपछि वन जंगलको संरक्षण तथा सदुपयोगको लागी वन ऐन २०१८ लागु भएपछि जिल्ला कार्यालय अन्तर्गत शाखा कायम गरि १ रेञ्जर र वन पालेलाई सो काम गर्ने जिम्मेवारी दिइएको देखिन्छ । २०३४ सालमा प्यूठानमा वन डिभिजनको स्थापना भयो । उक्त डिभिजनले प्यूठान र रोल्पा दुई जिल्लाको काम हेर्ने गर्दथ्यो । २०४० सालमा प्यूठान र रोल्पा अलग अलग वन कार्यालय भए । २०४० सालदेखि यस जिल्लाको वन प्रशासन र वन सम्बन्धी कार्यहरु जिल्ला वन कार्यालय प्यूठानले गर्दै आएकोमा संघियताको कार्यान्वयनसँगसँगै २०७५ सालदेखि डिभिजन वन कार्यालय, प्यूठान र यस अन्तर्गत सव डिभिजन वन कार्यालयहरु स्थापित भई कार्य हुँदै आएको छ ।

३.२ वन जंगलको किसिम र अवस्था:-

      USID को सहयोगमा विगतमा गरिएको गा.वि.स. रिर्सोस ईन्भेन्ट्रिबाट प्राप्त तथ्याङ्क अनुसार प्यूठान जिल्लाको कुल क्षेत्रफल १३२,८९० हेक्टर मध्ये वन क्षेत्रले ७२,६९४ हे., कृषि क्षेत्रले ४२,७६६ हे., वुट्यान र चरण क्षेत्रले १२,८९९ हे. र खोलानदी तथा अन्य क्षेत्रले ४,५३१ हे. भूभाग ओगटेर रहेको पाइन्छ। वन श्रोत सर्भेक्षण (२०१४) अनुसार वनको क्षेत्रफल कम देखिन्छ । यसो हुनुमा श्रोत सर्भेक्षणका बखत प्रयोग भएको मापन विधिले फरक परेको आंकलन गरिएको छ ।

            यस जिल्लाको फैलावटलाई हेर्दा यो जिल्ला तराईदेखि उच्च पहाडी भेगमा फैलिएको र सोही अनुसार यहाँको वनलाई चुरे क्षेत्रको वन, मध्य पहाडी क्षेत्रको वन र उच्च क्षेत्रको वन भनि वर्गिकरण गरेको पाइन्छ। जहाँ सबैभन्दा बढी वन क्षेत्रमध्ये पहाडी भेगमा तत् पश्चात चुरे क्षेत्रमा र सबैभन्दा कम उच्च पहाडी क्षेत्रमा रहेको पाइन्छ ।

भौगोलिक क्षेत्र अनुसारको वन क्षेत्र

  1. उच्च पहाडी भाग ९,५९६ हे. (१३.२%) वन क्षेत्र १,७३२ हे. (१३.४३%) वुट्यान र चरण क्षेत्र
  2. मध्य पहाडी भाग ३५,५६९ हे. (४८.९%) वन क्षेत्र ११,१६७ हे. (८६.५७%) वुट्यान र चरण क्षेत्र
  3. चुरे क्षेत्र २७,५५१ हे. (३७.९%) वन क्षेत्र

जम्मा ७२,६९४ हे. वन क्षेत्र (१००%) १२।८९९ हे. (१००%) वुट्यान र चरण क्षेत्र       

 

 

         

  

 

   

    

 

 


पछिल्लो अपडेट गरिएको : 2079-01-29 18:14:55

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय प्यूठान

Powered By: ProActive Developers